
काठमाडौँ — इराकको राजधानी बग्दादमा हिंसात्मक झडप हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । सोमबार शित्ते धार्मिक नेता मोक्तदा अल साद्रका समर्थक र सरकारी सुरक्षाकर्मीबीच भएको झडपमा २० जनाको मृत्यु भएको इराकी न्युज एजेन्सीले बताएको छ ।

सन् २००३ पछि इराकमा साम्प्रदायिक संघर्ष चर्कंदै आएको छ । हालै अन्तरसाम्प्रदायिक र अन्तरजातीय राजनीतिक प्रतिस्पर्धाले पनि संघर्ष चर्किंदै गएको बताइन्छ ।
साद्र अक्टोबरमा भएको चुनावमा विजयी भएका थिए । उनी इरानसमर्थित समूहभन्दा बाहिरको समर्थनबाट सरकार बनाउन चाहन्थे । तर उनी सरकार बनाउन भने असफल भएपछि उनले राजनीति छाड्ने घोषणा गरेका छन् । तर आफ्नै समर्थकहरूबाट हिंसात्मक प्रदर्शन चर्काइएपछि साद्रले भोकहडताल घोषणा गरेका छन् । उनले दुवै पक्षलाई हिंसा छाड्न आग्रह गर्दै भोकहडतालको घोषणा गरेका हुन् ।
सरकारी कार्यालय र विदेशी राजदूतावासहरू रहेको सुरक्षित मानिने ग्रीन जोनमै हिंसा मच्चिएको हो। सुरक्षा अधिकारीहरूका अनुसार साद्रसमर्थित पिस ब्रिगेड्स र सुरक्षाकर्मीबीच झडप भएको हो। रोयटर्सले भने सोमबार राति भएको झडपमा कसले कसलाई गोली चलाएको भन्ने कुरा स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको जनाएको छ ।
पछिल्लो समय प्रभावशाली नेता साद्र र इरानसमर्थित समूहबीच झडपका घटनाहरू बढेका हुन् । साद्र शक्तिशाली मेहदी आर्मीनामक सशस्त्र समूह चलाउने लोकप्रिय नेतासमेत हुन् ।
अमेरिकी आक्रमणपछि निकै सक्रिय रहेको उक्त समूह २००८ मा प्रतिबन्धित भएको थियो। पछि पिस ब्रिगेडका रूपमा उक्त समूहलाई ब्युँताइएको थियो।
गत अक्टोबरमा ३२९ सिट रहेको इराकी संसद्मा ७४ सिट जितेपछि साद्रले सरकार बनाउने घोषणा गरेका थिए । तर सरकार बनाउन भने उनले बहुमत जुटाउन सकेनन् । तर सरकारविहीन अवस्थामा इराकको राजनीतिक संकट गहिरिँदै गएको छ ।

इराकी कामचलाउमन्त्री मुस्तफा अल कादिमीले राजनीतिक संकटले केही वर्षयता सुरक्षा क्षेत्रमा प्राप्त उपलब्धि गुम्ने खतरा भएको बताएका छन् । उनले सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणयता इराकको अवस्था खराब बन्दै गएको बताएका छन् ।

Discussion about this post