
खेतबारीमा अन्नबाली रोपेर गाईभैंसी, भेडाबाख्रासहित बनबासमा हिँडेका गोठालाहरू बाली टिप्ने बेला घरको ओटालो पुग्ने गरेका छन् । हरेक वर्ष गाईभैंसी लिएर ३ महिनाका लागि लेकतिर जाने गरेको अमृत बुढाले बताए । शीतल मौसम र लेकाली घाँसपातले गाईभैसीले दूध धेरै दिने, रोग नलाग्ने र मोटाउने उनको भनाइ छ । अहिले मुगुका लेकाली खर्कहरू गाईभैंसीले भरिएको छ । फोतु नेर गाउँका झन्डै ३ सय परिवारका गाईभैंसी र भेडाबाख्रा ३ महिनाका निम्ति लेकतिर लागेका छन् । चरनका लागि प्रत्येक घरबाट १/१ जना लेकमा आएको बुढाले बताए । ‘अहिले सबैजसो लेकाली खर्कहरू चौपायाको आवाज र उनीहरूका घाँटीको घण्टीले गुञ्जायमान छन्,’ उनले भने, ‘गोठालाहरूले पनि आफ्नो बह पोख्न गीत सुसेल्दै डाँडाकाँडा रमाइलो बनाइरहेका छन् ।’
मुगु र जुम्लाको सिमाना घुच्चीलेक, डाबलगायत ठाउँमा पनि गाईभैंसी र भेडाबाख्राले पाटन भरिएका छन् । पिना, मुन्दु, कोटिला, झ्यारी, टोप्लालगायत गाउँका स्थानीयले ३ महिनाका लागि पशुचौपाया पाटनमा लगेका हुन् । अहिले गाउँका सबैजसो गोठहरू रित्तिएको स्थानीय अगुवा हरिचन्द शाहीले बताए । ‘आजभोलि लेकतिर गए दूध–दही प्रशस्त खान पाइन्छ, गाईभैंसी र भेडाबाख्रा लेकमै ब्याउँछन्,’ उनले भने, ‘भैंसी ब्याउने समय नजिक आएपछि गोठालाले खर्क उकाल्ने चलन छ ।’ पाटन क्षेत्रमा चुन, बुकीलगायत घाँस प्रशस्त पाइने भएकाले पशुचौपाया मोटाउने गरेको उनले बताए । खर्क उक्लिएका गोठालाहरूलाई घरपरिवारले बेलाबखत सातुसामल पुर्याउने गरेका छन् ।
मुगुमकार्मारोङ गाउँपालिकाको माथिल्लो बस्तीका स्थानीयले पनि झोवा–चौरी हिमालतिर उकालेका छन् । छायाँनाथ, कोइकी, रिमारलगायत समुद्र सतहदेखि झन्डै ४५ सय मिटर उचाइका पाटनमा बस्ने गोठालाहरूले त्यहाँ बस्दा विभिन्न जडीबुटी पनि टिप्ने गरेका छन् । ‘उताबाट आउँदा एक जनाले कम्तीमा ५० हजारसम्मको जडीबुटी ल्याएकै हुन्छन्, किम्री गाउँका फोन्जुक तामाङले भने, ‘असोजतिर गोठालाहरू आउँदा चौंरीहरू पनि बिक्री गर्न लायक भइरहेका हुन्छन्, यहाँ ल्याएपछि दसैंका लागि चौंरीहरू बेच्न सहरतिर लैजान्छौं ।’
पाटनहरूमा गोठालाहरूको दिनचर्या गाईभैंसी हेरफेर गर्दै घाँसदाउरा जुटाउँदै बित्ने गरेको छ । ‘पाटनबाट आउँदा सबै गोठालाहरूले ८/१० धार्नी घिउ पनि बोकेरै ल्याउँछन्,’ तामाङले भने, ‘केहीले चौंरी र भेडाको छुर्पी पनि उतैतिर बनाएर गाउँमा पठाउने गरेका छन् ।’ पाटनमा गएका गोठालाहरूमध्ये केहीले भेडाको उन कात्छन् भने केहीले काठका भाँडाकुँडा, ठेकीलगायतका सामग्री बनाउने पनि गरेको उनले बताए ।
अहिले पाटनमा अत्तिस, कटुकी, वनलसुन, रातो च्याउलगायत जडीबुटी टिप्नेको घुइँचो छ । झरी र कुहिरोभित्र अस्थायी बसोबास गर्ने गोठालाहरू रातभरि आगो बालेर देउडा गीत गाउँदै रमाइलो पनि गर्ने गरेको कोइकी पाटन पुगेका छेम्ताङ तामाङले टेलिफोनमा बताए । ‘अहिले फोनले पनि धेरै सजिलो बनाएको छ, नत्र सातुचामल सकिएको खबर घरमा पुर्याउनै मुस्किल हुन्थ्यो,’ उनले भने, ‘चामल, पिठो सकिएपछि घरबाट यहाँ आउनेहरूको हातबाट हामीले टिपेको जडीबुटी पठाउँछौं, पाटनको बसाइले आम्दानी पनि बढिरहेको छ ।’ मोबाइल चार्जका लागि घरबाटै ५ वाटको सोलार बोकेर ल्याएको उनले बताए ।
पशुचौपाया चराउन पाटनमा जाने गोठालाहरू सरकारी सेवा सुविधाबाट भने वञ्चित छन् । ‘३ महिना पाटनमै हुन्छौं, त्यसपछि दसैं–तिहारको चटारो, कात्तिक पहिलो सातादेखि हिउँ पर्ने भएकाले बेंसी झर्छौं,’ तामाङले भने, ‘कहिले लिने सरकारी सेवा सुविधा ?’ सरकारले पशुपालक किसानलाई दिने ऋण, विभिन्न अनुदान, पशुचौपायाको बिमा, गोठालो भत्तालगायतबाट आफूहरू वञ्चित रहेको उनले बताए ।
सरकारले पाटन क्षेत्रमा गोठसुधार, चरिचरन व्यवस्थापन, गोठालाहरूलाई खाद्यान्न र बन्दोबस्तीका सामग्री सहयोगलगायत कार्यक्रम आफूहरूका लागि गर्न जरुरी रहेको उनको भनाइ छ । ‘सरकारले अरू त केही गर्दैन, कम्तीमा त्रिपाल, टर्चलाइटलगायत सामान त दिन सक्छ नि,’ उनले भने, ‘कुनै रोग व्यथा लागे पाटनमै थलिनुपर्छ, जडीबुटी खुवाएर बिरामीको उपचार गर्ने गरेका छौं, गोठालाहरूका लागि घुम्ती शिविरको आयोजना गरे पनि हुन्थ्यो ।’

जिल्ला पशु सेवा कार्यालयका प्रमुख भीमचन्द बुढाका अनुसार गोठालालाई सुविधा दिनका लागि बजेट नै छैन । उनले भने, ‘अर्को वर्षदेखि गोठालालाई सामान्य टर्चलाइट र त्रिपालको व्यवस्था गर्न सकिन्छ कि भनेर प्रदेश सरकारलाई पत्राचार गरेका छौं ।’ कार्यालयका अनुसार जिल्लाभरि ७२ हजार भेडाबाख्रा, ११ हजार गाईभैंसी, ३ हजार ६ सय चौंरी र २८ सय झोवा छन् । तीमध्ये झन्डै ८० प्रतिशत पशुचौपायासहित किसानहरू पाटन पुगेको कार्यालय प्रमुख बुढाले बताए ।

Discussion about this post